


काठमाडौं,४ बैशाख । प्रयोगकर्तालाई सुरक्षित डिजिटल वातावरण प्रदान गर्ने प्रतिबद्धताअनुसार टिकटकले सन् २०२५ को चौथो त्रैमासिक (अक्टोबर–डिसेम्बर) कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ।
यस अवधिमा नेपालमा मात्रै कम्युनिटी गाइडलाइन्स उल्लङ्घनका कारण १९ लाख ३२ हजार ५७५ भिडियो हटाएको टिकटकले जनाएको छ। सक्रिय हटाउने दर ९९.९५ प्रतिशत रहेकोमा ९८.४५ प्रतिशत भिडियो २४ घण्टाभित्र हटाइएको टिकटकले जनाएको छ।

विश्वव्यापी रुपमा भने १७ करोड ५३ लाख २ हजार ८५ भिडियो हटाइएका छन्, जुन कुल अपलोडको करिब ०.५५ प्रतिशत हो। तीमध्ये १५ करोड २५ लाख ८० हजार ९३३ भिडियो अटोमेटेड प्रविधिबाट हटाइएका थिए भने ८३ लाख ६० हजार ७८० भिडियो पुनःस्थापना गरिएको थियो। सक्रिय हटाउने दर ९९.१५ प्रतिशत र ९३.४५ प्रतिशत कन्टेन्ट २४ घण्टाभित्र हटाइएको थियो।
यसै अवधिमा १४ करोड ७७ लाख १६ हजार ५१८ नक्कली एकाउन्ट हटाइएका छन् भने १३ वर्षभन्दा कम उमेरका हुन सक्ने २ करोड ३८ लाख ७५ हजार ८७९ खाताहरु पनि हटाइएका छन्।
रिपोर्ट अनुसार, नहेरी हटाइने भिडियो घट्नु एआई–आधारित मोडरेशन सुधारको संकेत हो। टिकटकले केही आपत्तिजनक कमेन्ट हटाउनेभन्दा तिनको पहुँच घटाउने नीति अपनाएको छ। साथै, नक्कली लाइक र फलोअर्स हटाउने कार्य बढाइएको छ।
हटाइएका भिडियोमध्ये २१.२५ प्रतिशत वयस्क वा संवेदनशील सामग्रीका, ९.१५ प्रतिशत सुरक्षा तथा सभ्यताविरुद्ध, १.२५ प्रतिशत गोपनीयता उल्लङ्घनका थिए। त्यस्तै १.६५ प्रतिशत भ्रामक सूचना र १.८५ प्रतिशत सम्पादन गरिएको वा एआई–निर्मित सामग्रीका रुपमा चिनिएका थिए।

