


काठमाडौं,४ बैशाख । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब ट्रायल पास गरेर राजस्व तिरेपछि २४ घण्टाभित्रै छापिने भएको छ। उक्त व्यवस्था आजदेखि लागू गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले जानकारी दिए।
मन्त्री तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्दै छपाइ प्रक्रिया तीव्र बनाउन निर्देशन दिएका थिए। लामो समयदेखि लाइसेन्स नपाउने समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए।

हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ भने विदेश जाने नागरिकका लागि आवश्यक लाइसेन्सलाई प्राथमिकता दिइएको छ।साथै, वैशाख १२ गतेभित्र १२ लाख र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म छापिसक्ने लक्ष्य रहेको उनको भनाई छ ।
लामो समयदेखि प्रयोगविहीन रहेका करिब एक अर्ब रुपैयाँ बराबरका उपकरण सञ्चालनमा ल्याउन पहल गरिएको उनले बताए। साथै, डाटा सुरक्षामा ध्यान दिन र सेवाग्राहीमैत्री सेवा प्रदान गर्न निर्देशन दिएका छन्।
केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात पनि छाप्ने तयारी भइरहेको छ।

