


काठमाडौं,११ बैशाख। सरकारले आगामी तीन महिनासम्म कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय, आयोग तथा अन्य सबै निकायलाई पत्र पठाउँदै उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो ।

गत चैत १३ गते बसेको सरकारको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीलाई उच्च प्राथमिकताका साथ लागू गर्ने क्रम जारी रहेकाले उक्त निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
‘कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ’, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।

