


भैरहवा,१२ बैशाख। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कुहिने फोहोर दैनिक संकलन हुने र सडकमा फोहोर फालेको पाइएमा ५० हजार रुपैयाँसम्म जरिवाना कारवाही हुने जनाएको छ ।
पालिकाले वडा नं.१ स्थित डण्डाखोला किनारमा अव्यवस्थित तरिकाले फोहोरमैला व्यवस्थापन गर्दै आएको थियो । प्रदूषण फैलिएकाले भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई गर्दै बैशाख ४ गते अदालत भनेको थियो–‘हाललाई वातावरण तथा स्वास्थ्य प्रतिकुल असर नपर्ने गरी फोहोरमैला व्यवस्थापनको यथोचित प्रबन्ध गर्नु गराउनु भनी अन्तिरम आदेश जारी गरी दिएको छ।’ जसपश्चात केही दिनअघि देखि पालिकामा फोहोर संकलन र व्यवस्थापन प्रभावित भएको थियो ।

कार्यालयले शनिवार एक सूचना जारी गर्दै कुहिने र नकुहिने फोहोरको वर्गीकरण गर्न आग्रह गरेको छ । ‘कुहिने फोहोर प्रत्येक दिन उठाइनेछ । नकुहिने फोहोर अर्को सूचना जारी नभएसम्मका लागि घरमै व्यवस्थापन गर्न अनुरोध छ’,सूचनामा भनिएको छ,‘आजकै मितिदेखि सडकमा फोहोर फालेमा ५ हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना गरिनेछ ।’

