


काठमाडौं,२२ बैशाख। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारी संस्थाहरुका करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्ने प्रक्रिया अघि बढाएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्य सचिव रविन ढकालका अनुसार आगामी जेठको पहिलो हप्ताबाट बचत फिर्ता सुरु गर्न तयारी गरिएको छ। यसअघि मागदाबी गरिसकेकालाई प्राथमिकता दिइने र छुटेकाहरुका लागि साउनको पहिलो हप्तामा पुनः आवेदन खुला गरिने उनको भनाइ छ ।

समितिले बचत मिलानका लागि वैज्ञानिक र न्यायपूर्ण कार्यविधि निर्माण गर्ने जनाएको छ। समितिको कोषमा रकम अभाव भएमा सरकारले विनियोजन गरेको चक्रीय कोषबाट सापटी लिएर भए पनि बचतकर्ताको रकम भुक्तानी गरिने रणनीति बनाइएको छ।
साथै, कर्जा नतिर्ने ऋणीमाथि कडाइ गर्दै तीन पुस्तेसम्मको नामवली विवरण सार्वजनिक गर्ने तयारी पनि गरिएको छ।

