
हृदयराम गुप्ता
मर्चवार,२९ बैशाख । स्वच्छ र शुद्ध पानी पिउन पाउने प्रत्येक नागरिकको आधारभूत संवैधानिक अधिकार हो । तर, रुपन्देहीको मर्चवारमा भने स्थानीय र प्रदेश सरकारबीचको समन्वय अभावले नागरिकहरु स्वच्छ र शुद्ध पानी पिउनबाट बञ्चित भएका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

लुम्बिनी प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लगानीमा मर्चवारमा जडान गरिएको ‘वाटर एटिएम’ (भेन्डिङ मेसिन) कतै संचालनमै आएको छैन भने धेरै स्थानमा उद्घाटनको केही दिनमै बन्द हुन पुगेको छ।
इलाका प्रशासन कार्यालय, प्रभु बैंक, विद्युत् प्राधिकरण र आँखा अस्पतालमा आउने हजारौँ सेवाग्राहीलाई लक्षित गरी मझगावाँस्थित मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाको परिसरमा जडान गरिएको ‘वाटर एटिएम’ दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएको स्थानीयहरुले बताए।
त्यस्तै, धार्मिक पर्यटकीय स्थल कोटहीमाई र मर्चवारीदेवी मन्दिरमा जडान गरिएका मेसिनहरु पनि लामो समयदेखि बिग्रिएर थन्किएको छ। ‘मन्दिरमा आउने श्रद्धालुका लागि शुद्ध पिउने पानीको व्यवस्था हुँदा खुसी लागेको थियो’,कोटहीमाई–६ का स्थानीय राहुल यादवले भने, ‘तर १५ दिन नबित्दै मेसिन बन्द भयो । अहिले मेसिनमा जडान गर्ने निकायको नाम र नेताको फोटो मात्र छ।’
मर्चवार लिफ्ट सिँचाइ जलउपभोक्ता संस्थाका सचिव जगन्नाथ प्रसाद कुर्मीले मझगावाँमा रहेका विभिन्न कार्यालयमा सेवाग्राहीको चाप रहेकोले उक्त वाटर एटिएम सञ्चालन गर्नु आवश्यक रहेको बताए। ‘शुद्ध खानेपानी स्वास्थ्यका लागि मात्र होइन, सेवाग्राहीप्रति राज्यको उत्तरदायित्वको पनि प्रतीक हो’,उनले भने,‘स्थानीय सरकार, सरकारी कार्यालय र सामाजिक संस्थाहरुले समन्वय गरेर यसको स्वामित्व लिनुपर्छ।’
कोटहीमाई गाउँपालिका कार्यालयका प्रवक्ता संजय कुमार सैनीका अनुसार प्रदेश सरकारले गाउँपालिकालाई औपचारिक रुपमा हस्तान्तरण नगरेकोले लिन नसकिएको बताए। पानी र विद्युतको व्यवस्थापन तथा सञ्चालन सम्बन्धी स्पष्ट सहमति नभएकाले पालिकाले एकल जिम्मेवारी लिन सक्ने अवस्था नरहेको उनको भनाइ छ।
स्थानीय तहले अपनत्व नलिँदा यस्ता जनमुखी योजना निष्क्रिय हुने गरेको लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँ बताउँछन्। सार्वजनिक स्थल र मठमन्दिरको सेवा प्रवाह सुनिश्चित गर्ने जिम्मेवारी स्थानीय तहकै भएको जिकिर गर्दै संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्वअन्तर्गत पनि यसलाई सहयोग गर्न सक्ने उनको सुझाव छ।
वाटर एटिएम जडान गरेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भैरहवाका प्रमुख प्रकाश केसीले आफुले कार्यालयको जिम्मेवारी हालै सम्हालेको कारण योजनाका सम्बन्धमा जानकारी नभएको र बुझेर सञ्चालनका लागि पहल गर्ने बताए।

