


भैरहवा, ७ जेठ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेशमा यस वर्षको मनसुन अवधिमा सरदरभन्दा कम वर्षा र तापक्रम बढ्ने सम्भावना धेरै रहेको जनाएको छ ।
लुम्बिनी प्रदेशका साथै देशभर यस मनसुनको अवधिमा कम वर्षा भइ लामो समयसम्म खडेरी लाग्दा एक्कासी वर्षा भएर बाढी पहिरो आउने जोखिम पनि कायमै रहेको विभागकी प्रवक्ता एवं मौसमविद् विभूति पोखरेलले बताइन् ।

उनका अनुसार, मौसम पूर्वानुमानलाई थप प्रविधियुक्त बनाइएकाले बढि प्रभावकारी हुँदै गएकोले यस वर्षको मनसुनमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ।
यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भू-भाग, लुम्बिनी प्रदेशका अधिकांश भू-भाग, मधेस प्रदेशका पूर्वी भू-भाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको विभागले जनाएको छ।
त्यस्तैगरी सुदूरपश्चिम प्रदेशका उत्तरपूर्वी भू-भाग,कर्णाली प्रदेशका उत्तरी भू-भाग,लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग,कोसी प्रदेशका पूर्वी तथा दक्षिणी भू-भागमा अधिकतम तापक्रमभन्दा बढी हुने सम्भावना रहेको समेत विभागले उल्लेख गरेको छ ।

