
काठमाडौं,१३ जेठ। स्वास्थ्य बिमा बोर्डले निजी (स्वास्थ्य संस्था) अस्पतालबाट प्रदान गरिँदै आएको स्वास्थ्य बिमा कार्यक्रम जेठ १६ गतेदेखि स्थगित गर्ने निर्णय गरेको छ ।
बोर्डकी निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले बढ्दो वित्तीय सङ्कटलाई ध्यानमा राख्दै अर्को निर्णय नभएसम्मका लागि आकस्मिक सेवाबाहेक निजी अस्पतालमार्फत प्रदान गरिने स्वास्थ्य बिमासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिइन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

यो निर्णयसँगै देशभर स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध रहेका सयौं स्वास्थ्य संस्था, मेडिकल कलेजबाट बीमित नागरिकले पाउँदै आएको ओपीडी, परीक्षण, शल्यक्रिया, औषधि तथा अन्य नियमित सेवा प्रभावित हुनेछ। आकस्मिक सेवा भने यथावत रहने बोर्डले जनाएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार हाल बोर्डमा ३६ निजी अस्पताल आबद्ध छन्। यस्तै, ५०५ स्वास्थ्य संस्थामध्ये ४४२ सरकारी र २७ सामुदायिक स्वास्थ्य संस्था स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेका छन् ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच सदस्यसम्मको परिवारलाई ३ हजार ५०० योगदान रकमका आधारमा १ लाखसम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ । यस्तै थप प्रत्येक सदस्यका लागि रु ७०० योगदान थपिँदै जाने र प्रतिव्यक्ति रु २० हजार बराबरको सेवा सुविधा वृद्धि हुने व्यवस्था रहेको छ ।
हाल स्वास्थ्य बिमा कार्यक्रममा ५९ लाख ७० हजार ४०३ जना बीमित आबद्ध रहेका छन्।


