


काठमाडौं,१८जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।
भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत गएका हुन्।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार, भ्रमणका क्रममा सभापति लामिछानेले नयाँ दिल्लीमा भाजपाका शीर्ष नेताहरुसँग उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
भ्रमण टोलीमा सभापति लामिछानेसँगै उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री एवं सांसद विपिन आचार्य, सचिवालय सदस्य एवं सांसद् दीपक बोहोरा र प्रदीप आचार्य सहभागी छन्।
भारत भ्रमणका क्रममा टोलीले त्यहाँ बसोबास गरिरहेका नेपाली समुदायका सदस्य तथा पार्टीका शुभेच्छुकहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ।

