


हृदयराम गुप्ता
मर्चवार,२७ जेठ। रुपन्देहीको मर्चवारीमाई गाउँपालिकाका व्यावसायिक कृषक विभाण्ड यादव सोमबार आएको हावाहुरीपछि गहिरो चिन्तामा परेका छन्। वर्षौ मेहनत, ठूलो लगानी र उज्ज्वल भविष्यको आशा बोकेको उनको केरा खेतीमा ठूलो क्षति पुगेपछि आर्थिक संकट थपिएको छ ।
मर्चवारीमाई गाउँपालिका–१, सुमेरगढस्थित विभाण्ड एकीकृत कृषि फार्म अन्तर्गत लिजमा लिइएको करिब १० बिघा जग्गामा लगाइएका १० हजार केराबोटमध्ये करिब ३ हजार बोट हावाहुरीका कारण ढलेका तथा क्षतिग्रस्त भएका छन्। प्रारम्भिक अनुमानअनुसार यसबाट करिब ४ लाख रुपैयाँ बराबरको नोक्सानी भएको कृषक यादवले बताए।

‘अब केही महिनाभित्र उत्पादन बिक्री गरेर लगानी उठाउने र आम्दानी गर्ने योजना थियोे’,उनले भने,‘तर एकैछिनको हावाहुरीले सबै सपना उडाइदियो ।’
उनले दोस्रो चरणको उत्पादनका लागि करिब ९ महिनादेखि केरा खेती गर्दै आएका थिए। तीन महिनापछि उत्पादन भित्रयाउने तयारी भइरहेका बेला प्राकृतिक विपत्तिले बालीमा क्षति पुर्याएपछि उनी आर्थिक रुपमा समेत ठूलो मारमा परेका छन् ।
घटनापछि गाउँपालिका अध्यक्ष गयाप्रसाद बरईले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै वास्तविक क्षतिको मूल्यांकन गरी किसानलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने प्रयास गरिने बताएका छन्।
गाउँपालिकाको उपाध्यक्ष आशा सिंहले हावाहुरीबाट प्रभावित किसानहरुको क्षतिको विवरण संकलन कार्य सुरु भइसकेको जानकारी दिइन्।
गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश यादवका अनुसार, क्षति भएका केराबोटको गणना तथा लागत मूल्यांकनको कार्य सुरु गरिएको र प्रतिवेदन तयार गरी गाउँपालिका तथा सम्बन्धित निकायमार्फत राहत र सहयोगका लागि सिफारिस गरिनेछ।
बढ्दो उत्पादन लागत, अनिश्चित मौसम र प्राकृतिक विपत्तिका कारण किसानहरु निरन्तर जोखिममा परिरहेका बेला विभाण्ड यादवजस्ता कृषकको पीडाले कृषि क्षेत्रमा प्रभावकारी बाली बीमा, जोखिम व्यवस्थापन तथा किसान संरक्षण कार्यक्रमको आवश्यकता रहेको सरोकारावालाहरुले बताएका छन् ।

