


काठमाडौं, असार। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीका अनुसार, पक्राउ पर्नेहरुमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, ३४ वर्षीय मनीष पोद्दार, रुपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका छन्।

पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुकदेवले सर्विया पठाइदिन्छु भन्दै १३ लाख, मनीषले युके पठाइदिन्छु भन्दै दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै १२ लाख ६३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उनीहरुमाथी आरोप छ।
पीडितहरुको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट आरोपीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता क्षेत्रीले बताए।

