


सिरहा,७ असार। प्रहरीले गोली चलाएर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा एक जना घाइते भएका छन्।
पक्राउ पर्नेहरुमा भारत बिहारको मधुवनी जिल्ला, पदमाहा ग्रामपञ्चायत–२ जोगिया टोलका छोटु उर्फ रञ्जित कुमार पासवान र भारतको सोही स्थानका एक नाबालक रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको साथबाट ९२ ग्राम ३० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेश लिम्बुले जनाए ।
सिरहा नगरपालिका–२१, लकडीगोठस्थित लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीमाथी ढुंगामुढा भएको थियो ।
निमित्त सूचना अधिकारी लिम्बुका अनुसार, ढुंगामुढा गरी भारततर्फ भाग्न खोज्दा आत्मसमर्पणका लागि चेतवानी दिदै हवाइ फायर गरिएपनि आरोपीहरुले निरन्तर आक्रमण एवं ढुंगामुढा प्रहार गरी भाग्न खोज्दा पासवानको खुट्टामा गोली हानेर दुवै जनालाई पक्राउ गरिएको हो । साथै आरोपीहरुको आक्रमणबाट एक जना प्रहरी जवानसमेत घाइत भएका छन् ।
पक्राउ परेका पासवान कुख्याल लागूऔषध कारोबारीहरु रहेका र हालसम्म १० देखि १२ किलोसम्म नेपालमा ब्राउन सुगर विक्री गरिसकेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

