


काठमाडौं,२१ असार। सशस्त्र प्रहरी बल नेपालको कीर्तिपुरस्थित विद्यालयमा आर्थिक हिनामिनाको आरोपमा प्रहरीले इन्स्पेक्टरसहित दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
पक्राउ पर्नेमा विद्यालयको लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लिला लामा रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, सशस्त्र प्रहरी मुख्यालयले आर्थिक मिनामिना भएको भन्दै कारबाहीका लागि पठाएको पत्रका आधारमा उनीहरुलाई शनिवार पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको खातामा रहनुपर्ने रकम व्यक्तिगत बैंक खातामा जम्मा गरी करोडौं रुपैयाँ हिनामिना गरिएको आरोप छ।
यस विषयमा सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन गरेको थियो। छानबिनबाट आर्थिक अनियमितता भएको पाइएपछि विस्तृत अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरिएको हो।
प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

