


काठमाडौं,२२ असार। विशेष अदालतले टेरामक्स खरिद प्रकरणमा तीन जनालाई दोषी ठहर गरेको छ।
विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरु धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको हो।

अदालतले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) अनुसार कसुरको प्रकृति, त्यसबेलाको परिस्थिति तथा सजायको उद्देश्यलाई ध्यानमा राख्दै झा, ज्ञवाली र उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। अदालतले अध्यक्ष रहेको भन्दै झाको हकमा भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने ठहर गर्दै थप ६ महिना कैद सजायको फैसला गरेको छ।
उक्त मुद्दामा प्रतिवादी रहेका पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई भने सफाइ पाएका छन्। अदालतले फैसलाको पूर्णपाठ तयार गर्न समय लाग्ने भएकाले हाल संक्षिप्त फैसला सार्वजनिक गरिएको जनाएको छ।

