


भैरहवा, साउन । रुपन्देहीको शुद्धोधन गाउँपालिका–७ तुनिडिहवाका युवा समाजसेवी रामजित लोधले पालिकाको तीन वटा सामुदायिक विद्यालयमा अध्यनरत ९ सय जना विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका छन्।
उनले शुद्धोधन गाउँपालिका–६ स्थित श्री गुरौलिया माध्यमिक विद्यालय, वडा नं. ७ स्थित श्री जनता माध्यमिक विद्यालय र श्री राधाकृष्ण बाल आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थी र कार्यरत शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराएका हुन्।

सामाजिक उत्तरदायित्व अन्तरगत व्यक्तिगत लगानीमा सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थी र शिक्षकहरुलाई विद्यालय पोसाक उपलब्ध गराइएको उनले बताए।

‘मेरो गाउँठाउँको विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई विद्यालय आउँदा-जाँदा कसैसँग सर्ट छ तर पाइन्ट छैन, कसैसँग पोसाक नै नभएको देखे’,पोसाक हस्तान्तरण कार्यक्रममा उनले भने,‘विद्यार्थीसँग विद्यालय पोसाक छैन भने गाउँपालिका, वडा कार्यालयले दिनुपर्ने दायित्व हो तर गाउँपालिका, वडा कार्यालयले नगरेको देखेपछि आफूले कमाएको केही रकमबाट पोसाक उपलब्ध गराउने निर्णय गरेको हुँ ।’
उनले आफूले अहिले विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको उल्लेख गर्दै अन्य शैक्षिक सामग्री स्थानीय सरकारले व्यवस्थापन गर्नुपर्ने धारणा राखे।
‘मैले व्यक्तिगत खर्चमा विद्यालय पोसाक उपलब्ध गराएको छु। अब विद्यार्थीहरुलाई आवश्यक जुत्ता, टाई, बेल्ट, झोला लगायतका आवश्यक सामग्री गाउँपालिका र वडा कार्यालयले उपलब्ध गराओस् भन्ने मेरो अपेक्षा छ’,उनले भने,‘विद्यार्थीको शिक्षामा गरिने लगानी नै भविष्य निर्माणको आधार हो ।’
सामुदायिक विद्यालयमा अधिकांश विपन्न परिवारकै विद्यार्थी अध्यापन गर्ने गरेकोले उनीहरुको शिक्षालाई सहज बनाउन स्थानीय सरकारले शिक्षा क्षेत्रमा अझ बढी लगानी गर्नुपर्ने उनको भनाइ थियो।

उनले पोसाक उपलब्ध गराउने कार्य गाउँपालिका/वडा कार्यालयले गरेको भए आफूलाई वितरणका लागि अगाडी आउनुपर्ने आवश्यकता नभएको र निजी विद्यालय जस्तै सामुदायिक विद्यालयमा पनि अध्यापन हुनुपर्ने भन्दै सरोरकारावालाको ध्यानाकर्षण गराए ।
‘शिक्षामा गरिएको सानो सहयोगले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। कुनै पनि विद्यार्थी आर्थिक अभावकै कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने मेरो चाहना हो। आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा आफ्नो सामर्थ्यअनुसार योगदानलाई निरन्तरता दिनेछु ।’ उनले प्रतिबद्धता व्यक्त गरे।
विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीयवासीले समाजसेवी लोधको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता सामाजिक अभियानले विद्यार्थीमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन्।

स्थानीय स्तरमा शिक्षा प्रवर्द्धन तथा विपन्न विद्यार्थीलाई सहयोग पुर्याउने उद्देश्यले गरिएको यो कार्यलाई समुदायले उदाहरणीय सामाजिक योगदानका रुपमा प्रशंसा गरेको छ।

