


काठमाडौं,१३ साउन। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको विरोध गर्दै आज चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेका छन्। चिकित्सकहरु सेवा बन्द गरेर आन्दोलनमा उत्रिँदा बिरामीहरुको उपचारमा समस्या परेको छ।
नेपाल चिकित्सक संघको आह्वानमा बुधबार देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। साथै, काठमाडौंको माइतीघरमा उनीहरुले विरोध प्रदर्शन गरेका छन्।

वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी भएको आक्रमण र अस्पतालमा गरिएको तोडफोडका दोषीहरुलाई कानुनी कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै संघ आन्दोलनमा उत्रिएको हो।
संघका अध्यक्ष डा. बद्री रिजालका अनुसार, घटना घटेको पाँच दिन बितिसक्दा समेत दोषीलाई पक्राउ गरी कारबाही गर्नुको साटो न्याय माग्न गएकाहरुमाथि दुर्व्यवहार भएको छ।
राज्यले आफूहरुको माग तत्काल सम्बोधन गरे आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु तत्काल फिर्ता हुने र चिकित्सक सुरक्षित भएर काम गर्न पाउनु पर्ने उनको भनाई छ।

