


दाङ, १४ साउन। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता दिइने भएको छ। एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सत्ता सहकार्यको सहमति भएपछि मुख्यमन्त्री परिवर्तनको चर्चाका बीच आचार्यलाई नै नेतृत्वमा निरन्तरता दिने सहमति भएको हो।
स्रोतका अनुसार, एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु प्रसाद पौडेल, महासचिव शंकर पोख्रेल, मुख्यमन्त्री चेतनारायण आचार्य र पूर्वमुख्यमन्त्री लिला गिरीबीच भक्तपुरको गुण्डुमा भएको छलफलले आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने निष्कर्ष निकालेको हो ।

यससँगै एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच मन्त्रालयको बाँडफाँड, मन्त्रीहरुको जिम्मेवारी तथा सरकारको साझा कार्ययोजनाबारे औपचारिक छलफल अघि बढ्ने भएको छ। मन्त्रालयको संख्या पुनर्संरचना भइसकेकाले दुबै दलबीच कुन मन्त्रालय कसले लिने भन्ने विषयमा गृहकार्य सुरु हुने जनाइएको छ।
हाल प्रदेश सरकारमा मुख्यमन्त्री आचार्यसहित एमालेका पाँचजना मन्त्री छन्। नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कांग्रेसका मन्त्रीहरुले राजीनामा दिएका थिए। त्यसपछि एमाले र नेकपाले नयाँ सत्ता समीकरण बनाउने सहमति गरेका हुन् ।
सहमति अनुसार, अब नेकपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाइनेछ भने केही दिनमा मन्त्रिपरिषद् पुनर्गठनको तयारी रहेको बताइएको छ।

