

भैरहवा । लामो समयदेखि सर्वसम्मत नेतृत्व चयन हुँदै आएको रुपन्देही जिल्ला अदालत बार एसोसिएसनमा २२ वर्षपछि मतदानमार्फत नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार सम्पन्न बारको ५९औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट चोला बहादुर कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत एवं वरिष्ठ अधिवक्ता शिवप्रसाद गौडेलले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement
यसपटक बारभित्र नेतृत्व चयनमा सहमति जुट्न नसक्दा अध्यक्ष र सचिव पदमा निर्वाचन भएको थियो। अध्यक्ष पदमा ७६ मत प्राप्त गर्दै कार्की निर्वाचित भए। उनका प्रतिस्पर्धी डण्डप्रसाद भट्टराईले ४२ मत प्राप्त गरे।
यस्तै सचिव पदमा मेघनाथ खनाल ६८ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी पंकजकुमार पाण्डेयले ४८ मत प्राप्त गरे। दुवै पदमा एउटै संगठनसँग आबद्ध उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचन समितिका अनुसार, उपाध्यक्षमा होमराज पन्त, कोषाध्यक्षमा साधना पाण्डेय, सहसचिवमा पार्वती फुयाल तथा सदस्यमा कृष्णप्रसाद ढकाल, रामकुमार लोध, गोमा सापकोटा, अयोध्या प्रसाद भण्डारी, आशिषलाल कर्ण, भूपराज भण्डारी, विनय पाठक र खेमबहादुर पुन निर्विरोध निर्वाचित भएका छन्।
बारमा वरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अभिवक्तासहित कुल १५२ जना मतदाता रहेकामा निर्वाचनमा ११३ मत खसेको थियो।
यसअघि रुपन्देही बारका लगातार १० कार्यकालका कार्यसमिति सर्वसम्मत रुपमा चयन हुँदै आएका थिए। तर यसपटक पिपिएलएभित्रै उम्मेदवारबीच सहमति कायम हुन नसक्दा दुई दशकभन्दा लामो समयपछि मतदानको अवस्था सिर्जना भएको हो।
भैरहवास्थित बारको तीनतले आधुनिक भवनमा सम्पन्न अधिवेशनको उद्घाटन रुपन्देही जिल्ला अदालतका न्यायाधीश कोमलप्रसाद आचार्यले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै उनले न्याय सम्पादनमा बार र बेन्चको उद्देश्य एउटै रहेको उल्लेख गर्दै दुवै पक्षबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए।

उक्त कार्यक्रममा नेपाल बार एसोसिएसन केन्द्रीय समितीका पूर्वउपाध्यक्ष एवं रुपन्देही बारका संस्थापक गोपाल प्रसाद पाण्डे, रुपन्देही बारका पूर्वअध्यक्ष एवं प्रमुख निर्वाचन अधिकृत शिव प्रसाद गौडेल, वरिष्ठ अधिवक्ता धर्मबहादुर खड्काले समेत बार र कानुन व्यवसायी एवं न्यायधीशको कार्यशैलीबाट उत्पन्न देखिएको समसामायिक चर्चाको विषयहरु औल्याउदै जनतामा न्यायप्रतिको विश्वास जगाउनुपर्ने धाराण व्यक्त गरे।
बारका अध्यक्ष लयप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सचिव केशव सिंह चौधरीबाट प्रस्तुत प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद आचार्यले पेश गरेको आर्थिक प्रतिवेदनलाई सुझाव सहित पारित गरिएको छ।
वि.सं. २०२४ सालमा स्थापना भएको रुपन्देही जिल्ला अदालत बार एसोसिएसन यस क्षेत्रकै पुरानो बारमध्ये एक हो। लामो समयसम्म सर्वसम्मत नेतृत्व चयनको अभ्यास गर्दै आएको संस्थामा यसपटक भएको निर्वाचनलाई आन्तरिक लोकतान्त्रिक अभ्यास र संगठनभित्रको मतभिन्नता दुवै दृष्टिले चासोका साथ हेरिएको छ।





