


काठमाडौं,१४ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न सबैमा अपिल गरेका छन्।
शुक्रबार जारी अपिलमा राष्ट्रपति पौडेलले वर्तमान परिस्थितिमा सबै नागरिकलाई आपसी सद्भाव, मित्रता, सहिष्णुता र एकतालाई थप सुदृढ बनाउन आग्रह गरेका छन्। साथै, घटनापछि उत्पन्न विषम अवस्था चाँडै सामान्य हुने र शान्ति–सुरक्षा तथा जनजीवन पूर्ववत् अवस्थामा फर्काउन सरकारले आवश्यक पहल गरिरहेको विश्वास व्यक्त गरेका छन्।

राष्ट्रपतिले सामाजिक, धार्मिक तथा जातीय सद्भाव, मेलमिलाप र भ्रातृत्व नेपाली समाजको पहिचान र परम्परा भएको उल्लेख गर्दै यसलाई कायम राख्दै राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सबै राजनीतिक दल, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण नेपालीलाई आ–आफ्नो ठाउँबाट योगदान गर्न आह्वान गरेका छन्।
उनले घटनामा संलग्न दोषीमाथि कानुनबमोजिम कडा कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई सचेत रहन पनि आग्रह गरेका छन्।
राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

