


काठमाडौं,१५ साउन । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका कम्प्युटर इन्जिनियर राकेश कुमार दासविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा दासविरुद्ध आरोपपत्र दायर गरेको हो।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार, दासले पेश गरेका शैक्षिक योग्यतासम्बन्धी प्रमाणपत्र नक्कली रहेको भन्ने उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा उनले भारतबाट प्राप्त गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्जिनियर पदमा नियुक्ति लिएको खुलेको आयोगको दाबी छ।
अख्तियारका अनुसार नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी दासले ओहोदा,लाभ र सुविधासमेत समेत लिएका छन्। उक्त कार्यबाट उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर गरेको पुष्टि भएको भन्दै सोही ऐनअनुसार कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

