


दाङ,२० साउन । प्रहरीले जंगलमा लुकाएर राखिएको ५५ थान भरुवा बन्दुक बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, साउन १६ देखि १९ गतेसम्म संचालन गरिएको अप्रेसनको क्रममा जिल्लाको विभिन्न जंगलमा लुकाएर राखिएको ५५ थान भरुवा बन्दुक बरामद भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरुले बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा खोजतलास गरेको थियो।
खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको छ। यस्तै, लमही नगरपालिका–९ तरुलियास्थित बिरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, सबै बन्दुकका नाल वेवारिस अवस्थामा बरामद भएको र घटनाबारे थप अनुसन्धान समेत भइरहेको छ।।

