


काठमाडौं,२० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा.राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार, भ्याक्सिनेटरमार्फत सम्पन्न गरिएको पशु खोप कार्यक्रमको भुक्तानी रकम उपलब्ध गराएबापत सेवाग्राहीबाट कमिसन माग गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। अख्तियारले दुवै जनालाई घुस रकमसहित पक्राउ गरेको थियो ।

अनुसन्धानका क्रममा कार्यालय प्रमुख डा. दास र सवारी चालक यादवले भ्याक्सिनेटरहरुले पाउनुपर्ने पारिश्रमिक भुक्तानी गरिदिएबापत २० प्रतिशत रकम कमिसनका रुपमा माग गरेको र सोही क्रममा १ लाख ३२ हजार ३५० रुपैयाँ घुस रकम लिएको देखिएको आयोगको दाबी छ ।
आयोगले दुवै जनाको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर रहेको दाबी गरेको छ ।
बुधवार विशेष अदालतमा दायर गरिएको आरोप पत्रमा उनीहरुबाट १ लाख ३२ हजार ३५० रुपैयाँ बिगो कायम गरी ऐनअनुसार कैद तथा बिगोबमोजिम जरिवाना सजायको माग गरिएको आयोगले जनाएको छ ।

