


कपिलवस्तु,२१ साउन । कपिलवस्तुको तिलौराकोटस्थित संग्रहालयमा विदेशी पर्यटक आगमनको संख्या घटेको छ।
संग्रहालयको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८२/८३ मा सार्क मुलुकका ९६८ र तेस्रो मुलुकका ६०६ गरी कुल १,५७४ विदेशी पर्यटकले संग्रहालय अवलोकन गरेका छन्।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सार्क मुलुकका एक हजार ९ सय ९७ र तेस्रो मुलुकका ७ सय ६१ गरी कुल दुई हजार ७ सय ५८ विदेशीले संग्रहालय अवलोकन गरेका थिए।
यता स्वदेशी पर्यटकको संख्या भने बढेको छ । गत आर्थिक वर्ष २०८२/८३ वर्ष ३,४९७ विद्यार्थी र ३,१६० स्वदेशी पर्यटक गरी ६,६५७ जनाले संग्रहालयको अवलोकन गरेका थिए । त्यस्तै अघिल्लो वर्ष दुई हजार ६ सय ४२ जना विद्यार्थी र अन्य स्वदेशी पर्यटकको संख्या तीन हजार ९ सय ३४ थियो।
संग्रहालय प्रमुख शान्ति शर्माले प्रचारप्रसारको अभावका कारण तिलौराकोट पुग्ने धेरै पर्यटक संग्रहालयसम्म नपुग्ने गरेको बताइन्। उनका अनुसार, बुद्धकालीन इतिहास र पुरातात्विक सम्पदाबारे जानकारी दिन संग्रहालयको भ्रमण महत्वपूर्ण भए पनि करिब २० प्रतिशत पर्यटक संग्रहालय नहेरी फर्किने गरेका छन्।
संग्रहालयमा गौतम बुद्ध, शुद्धोदन तथा बुद्धकालीन सभ्यतासँग सम्बन्धित उत्खननबाट प्राप्त माटाका भाँडाकुँडा, प्राचीन सिक्का, गहना, हातहतियार तथा विभिन्न देवी–देवताका मूर्तिलगायतका बहुमूल्य पुरातात्विक सामग्री सुरक्षित राखिएका छन्।
संग्रहालयमा सबैभन्दा बढी थाइल्यान्ड, श्रीलंका र म्यानमारबाट पर्यटकहरु आउने गरेका छन् ।

