


काठमाडौं,२१ साउन। देशभरि खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उपभोक्तालाई कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी समस्या देखिए सिधै गुनासो गर्न आग्रह गरेको छ।
उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले आज एक सूचना जारी गर्दै बजारमा ग्यास पाउन कठिनाइ भए सिधै सम्पर्क गर्न आग्रह गरेको हो।

कुनै पनि उपभोक्ताले बजारमा ग्यासको प्राप्ती, कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी तथा आपूर्तिमा कुनै समस्या देखे मोबाइल नम्बर ९८५१११६७७३ मा सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।
प्राप्त गुनासोका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिने सूचनामा उल्लेख छ ।

