


भैरहवा, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका चारजना प्रदेश सभा सदस्यहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन कारवाही गरेको छ ।
केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीको नीति र निर्णयविपरीत कार्य गरेर अनुशासन उल्लंघन गरेको भन्दै प्रदेश सांसदलाई कारवाही गर्ने निर्णय गरेको हो ।

निष्काशित हुनेमा लुम्बिनी प्रदेश सांसदहरु सन्तोष कुमार पाण्डेय, हेमा बेल्बासे केसी, भण्डारीलाल अहिर र आदेशकुमार अग्रवाल रहेको छन्। यी सांसदहरुले पार्टीको निर्णयविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरी सरकारमा समेत सहभागी भएकाले निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ।
निष्काशित कारवाही भएको पाण्डेय सहरी विकास ऊर्जा सिँचाइ तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला कानून, उद्योग तथा यातायात मन्त्री हुन्।
स्थानीय तहका जनप्रतिनिधि र नेताहरुलाई पनि निष्काशन कारवाही गरेको छ। जसमा लहान नगरपालिकाका उपप्रमुख राम चलित्तर महतो, विभिन्न वडाका अध्यक्षहरु रमेशकुमार यादव, विजयकुमार महतो, प्रकाशमान श्रेष्ठ, शम्भु कुमार व्यार, मो. मुस्तकिम र किस्मत राई रहेका छन्।
कारवाहीमा पर्नेमा निर्मला तावा, खोटाङका जिल्ला समन्वय समिति प्रमुख सन बहादुर राई, माम्सेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्वाङ, केपीलासगढीका उपाध्यक्ष गुरुराज राई लगायत दर्जनौँ वडा अध्यक्ष र सदस्यहरु रहेका छन् ।
पार्टीको नीति, सिद्धान्त र विधानविपरीत कार्य गरेको आरोप लगाउँदै कारवाही गरिएको छ। बैठकले रसुवागढीको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुका लागि प्रधानमन्त्री राहत कोषमा २१ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ ।
जसपा नेपालले अग्रगामी मोर्चा’ गठनको निर्णयलाई स्वागत गर्दै यसलाई सफल बनाउन सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ । पार्टीले संगठन सुदृढीकरणका लागि भदौ २१ गते पश्चिम नवलपरासी, २२ गते रुपन्देही र २३ गते कपिलवस्तु र दाङमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।

