


काठमाडौं,२० भदौ। प्रधानमन्त्री बालेन शाहले संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरुमाथि सरकार निर्मम हुने बताएका छन्।
शनिबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आफन्त हराएर अथाह पीडामा रहेका नागरिकहरुको आक्रोश स्वाभाविक भएको र आफ्नो संसार गुमाएकाहरुको आक्रोश पीडा व्यक्त गर्ने माध्यम भएको बताएका हुन्। पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्नेहरु अपराधि भएको शाहले बताएका छन्।

पिडामा रहेका प्रभावित नागरिकरहरुबाट सरकारमाथि व्यक्त हुने आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्ने उनले बताए।
‘संवेदनशील घडीमा पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरु अपराधी हुन्। ती अपराधीहरुप्रति सरकार निर्मम हुनेछ,’ प्रधानमन्त्री शाहले लेखेका छन्।
त्यस्तै उनले शनिवार नुवाकोटमा ६४ वर्षीया महिलाको उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको भन्दै खोज तथा उद्धारमा अझैँ डटेर लागिरहेको भन्ने सन्देश पनि रहेको उल्लेख गरेका छन्।
उनले बाढीबाट प्रभावित नागरिकहरुलाई कहिल्यै अलपत्र नपार्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। ‘हजुरहरुले आफूलाई एक्लो नठान्नु होला। जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौं। हजुरहरूसँग यो राज्य छ, यो सरकार छ।,’ उनले लेखेका छन्।

