


काठमाडौं,२० भदौ। जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज तथा उद्धार कार्यलाई थप सुरक्षित र प्रभावकारी बनाउन स्विट्जरल्यान्डले नेपाललाई विशेष प्रकारको अत्याधुनिक ड्रोन उपलब्ध गराएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठको सचिवालयको विशेष पहलमा प्राप्त उक्त ड्रोन नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण गरिएको हो।

स्विट्जरल्यान्डको ड्रोन निर्माता कम्पनी ‘फ्लाईबिलिटी’ले निर्माण गरेको यो ड्रोन मानवीय उद्धारसँगै जोखिमपूर्ण संरचनाको निरीक्षणमा समेत प्रयोग गर्न सकिनेछ। मानिस प्रवेश गर्न कठिन हुने अँध्यारा, साँघुरा तथा जोखिमपूर्ण सुरुङभित्र खोजी र निरीक्षण गर्न सक्ने गरी ड्रोन डिजाइन गरिएको बताइएको छ।
विशेष सुरक्षा घेरा जडान गरिएको ड्रोन सुरुङका भित्ता, चट्टान वा अन्य संरचनामा ठोक्किए पनि क्षति नपुगी पुनः उडान गर्न सक्ने क्षमताको रहेको जनाइएको छ। यस प्रविधिबाट सुरुङभित्रको वास्तविक अवस्था तत्काल पहिचान गर्न, फसेका व्यक्तिको अवस्थाबारे जानकारी लिन, सम्भावित जोखिमको मूल्याङ्कन गर्न तथा उद्धारको रणनीति तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, उद्धारकर्तालाई सुरुङभित्र प्रवेश गराउनुअघि सम्भावित जोखिम पहिचान गर्न यो ड्रोन महत्वपूर्ण हुनेछ। विशेषगरी कठिन तथा जोखिमपूर्ण परिस्थितिमा खोज तथा उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन नयाँ प्रविधिले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

