


वीरगञ्ज,२१ भदौ। पर्सा प्रहरीले वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) बाट जनप्रतिनिधि, इन्स्पेक्टरसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एंव डीएसपी चक्र बहादुर मल्लका अनुसार, क्यासिनोमा नेपालीलाई जुवा खेलाइरहेको सूचना आधारमा छापा मारेर इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट नियन्त्रणमा लिइएको छ ।

प्रहरीले जुवा खेल्ने र क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । जुवा खेल्ने कार्यमा संग्लन आरोपमा इन्स्पेक्टर पौडेल, पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही स्थानका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठालाई नियन्त्रणमा लिइएको छ ।
त्यस्तै नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराएर जुवा खेलाउने कार्यमा संग्लन आरोपमा क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह, वीरुगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साहलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

