


भैरहवा, २१ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याउँदा नेपाल प्रहरीले आफ्नै पीडा र क्षतिका बीच पनि नागरिकको उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत वितरण तथा सुरक्षा निगरानीलाई निरन्तरता दिएको छ।
सीमित साधनस्रोतका बाबजुद उपलब्ध जनशक्ति, प्रविधि र स्रोतसाधनको अधिकतम प्रयोग गर्दै प्रहरी विपद् प्रभावित क्षेत्रमा अहोरात्र खटिएको हो। बाढीपछि उत्पन्न बहुआयामिक चुनौतीबीच समग्र विपद् व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।

पछिल्लो तथ्याङ्कअनुसार बाढी प्रभावित क्षेत्रबाट ९ हजार १ सय ५१ जनाको उद्धार गरिएको छ भने ४ हजार ४४ जना अझै बेपत्ता छन्।
बेपत्ताको खोजीमा प्रहरी, तालिमप्राप्त कुकुरदेखि ड्रोनसम्म
सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि नेपाल प्रहरीले विशेष टोली परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयमा प्रहरी नायब महानिरीक्षकको नेतृत्वमा ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरी चौबिसै घण्टा अनुगमन भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए।
उनका अनुसार केन्द्रमा सम्पर्कविहीन आफन्तको खोज तथा उद्धारका लागि परिवारजनबाट फोनमार्फत जानकारी आउने गरेको छ। प्राप्त विवरण सम्बन्धित प्रहरी युनिटमा पठाएर खोजी तथा उद्धारको काम अघि बढाइएको छ। हालसम्म केन्द्रमा आफन्तको खोज तथा उद्धारका लागि १ हजार ३ सय ५१ पटक अनुरोध प्राप्त भएको छ।
प्रभावित क्षेत्रमा तालिमप्राप्त कुकुर तथा जटिल भौतिक संरचनामा ड्रोनको प्रयोग गरी खोजी जारी छ। केही दिनअघि ड्रोन क्यामेराको सहयोगमा नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीस्थित एउटै घरबाट २४ वटा शव फेला पारिएको प्रहरीले जनाएको छ।
त्यस्तै, विभिन्न देशका दूतावास, कूटनीतिक नियोग तथा अन्य विदेशी संस्थासँग मृतक तथा बेपत्ता विदेशी नागरिकसम्बन्धी सूचना आदानप्रदानका लागि प्रहरी प्रधान कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिसिङ हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ।
वैज्ञानिक विधिबाट शव व्यवस्थापन
उद्धार र खोजीसँगै पहिचान हुन नसकेका शव तथा मानव अंगको व्यवस्थापनमा प्रहरीले फोरेन्सिक विशेषज्ञको सहयोग लिएको छ। विशेषज्ञसहितको टोलीले शव पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै शव व्यवस्थापन गरिरहेको छ।
शव सुरक्षित राख्ने, फोरेन्सिक परीक्षण गर्ने तथा पहिचानका लागि फोटो र उपलब्ध विवरण सार्वजनिक गर्ने काम भइरहेको प्रवक्ता काफ्लेले बताए। वैज्ञानिक रूपमा शव पहिचान गर्न डीएनए नमुना संकलन तथा सुरक्षित संरक्षणसमेत गरिएको छ।
हराइरहेका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षणमार्फत फेला परेका शव तथा मानव अंग पहिचान गर्न सक्ने गरी नेपाल प्रहरी अस्पताल महाराजगञ्जले डीएनए प्रोफाइलिङको काम गरिरहेको बताइएको छ।
विपद्को मौका छोपी हुने अपराधमा निगरानी
बाढीका कारण विस्थापित नागरिकका खाली घरको सुरक्षा तथा विपद्को मौका छोपी हुन सक्ने चोरी, लुटपाट र ठगी नियन्त्रणमा प्रहरीले निगरानी बढाएको छ।
उद्धार तथा खोजीमा सुरक्षाकर्मी व्यस्त रहेको मौका पारेर हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न नियमितभन्दा गस्ती तथा निगरानी बढाइएको प्रहरीले जनाएको छ। राहत संकलनका नाममा हुन सक्ने ठगी तथा सामाजिक सञ्जालमार्फत फैलाइने गलत सूचना, अफवाह र भ्रामक समाचारप्रति पनि प्रहरीले निगरानी बढाएको छ।
उपचार, राहत र सचेतनामा पनि सक्रिय
बाढी प्रभावित क्षेत्रमा घाइतेको उपचारका लागि नेपाल प्रहरी अस्पतालबाट विशेषज्ञ चिकित्सकको टोली परिचालन गरिएको छ। घाइतेको स्वास्थ्य उपचारसँगै बाढीका कारण उत्पन्न हुन सक्ने मानसिक तनाव न्यूनीकरणका लागि मनोपरामर्शसमेत दिइएको छ।
विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका उद्धार गरिएका व्यक्तिलाई स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी राहत वितरण भइरहेको छ। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ९२ वटा सामुदायिक सचेतना कार्यक्रम सञ्चालन गरिएका छन्, जसमा ४१ हजार २ सय ५७ जना सहभागी भएका छन्।
महिला, बालबालिका र ज्येष्ठ नागरिकमा विशेष ध्यान
होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाविरुद्ध हुन सक्ने दुर्व्यवहार तथा हिंसाका घटनाप्रति प्रहरीले विशेष संवेदनशीलता अपनाएको छ। महिला प्रहरी कर्मचारीसहित थप टोली परिचालन गरी महिला तथा बालबालिकासँग सम्बन्धित समस्या र गुनासो सम्बोधन तथा आवश्यक मनोपरामर्शको व्यवस्था गरिएको छ।
नेपाल प्रहरी अस्पतालबाट खटिएको विशेषज्ञ चिकित्सकसहितको टोलीले स्वास्थ्य जाँचसँगै मनोपरामर्शसमेत दिइरहेको प्रवक्ता काफ्लेले बताए।
सडक खुलाउनेदेखि विद्यालय सरसफाइसम्म
बाढीका कारण हिल्लाम्मे भएका विद्यालय, स्वास्थ्य चौकी, अस्पताल तथा विस्थापित नागरिकका घरमा सरसफाइ र मर्मतसम्भार गरी पुनः प्रयोग गर्न सकिने अवस्थामा ल्याउने काममा पनि प्रहरी खटिएको छ।
त्यस्तै, बाढीका कारण अवरुद्ध सडकको सूचना समयमै प्रवाह गर्ने, वैकल्पिक मार्गबारे जानकारी दिने तथा सडक पुनः सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने काम भइरहेको छ।
ठूलो मात्रामा थुप्रिएको हिलो, पाँगो माटो र ढुंगाका साथै पुनः बाढी आउन सक्ने जोखिमबीच पनि प्रहरीले उद्धार, खोजी, शव व्यवस्थापन, राहत वितरण र सुरक्षा व्यवस्थापनलाई निरन्तरता दिएको जनाएको छ।
आफ्नै पीडाबीच नागरिकको साथमा प्रहरी
बाढीबाट नेपाल प्रहरी संगठनले पनि भौतिकसँगै मानवीय क्षति व्यहोरेको छ। बाढीको सूचना पाएसँगै नागरिकको जीउधनको सुरक्षामा खटिएका २५ जना नेपाल प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।
तर, आफ्नै सहकर्मी सम्पर्कविहीन हुँदासमेत प्रहरीको उद्धार अभियान रोकिएको छैन। नागरिकको जीउधनको सुरक्षा, बेपत्ताको खोजी, शव व्यवस्थापन, राहत वितरण तथा आपराधिक गतिविधि नियन्त्रणमा प्रहरी निरन्तर परिचालित छ।
प्रहरी नायब महानिरीक्षक काफ्लेले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको साथमा रहेर प्रहरी आफ्नो कर्तव्यमा अडिग रहेको बताए। ‘आफ्नो दुःख–पीडा भए पनि नागरिकलाई नै सर्वोपरि मानेर प्रहरी अघि बढिरहेको छ,’ उनले भने।

