


काठमाडौं,२१ भदौ। प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न संकट व्यवस्थापनमा सक्रिय सुरक्षाकर्मीहरुको योगदानको प्रशंसा गर्दै विशेष धन्यवाद व्यक्त गरेका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले विपद्को समयमा राज्यका तीनै तहका सुरक्षा निकायले निर्वाह गरेको भूमिकाको सरकारले उच्च कदर गर्ने बताएका छन्।

उनले सुरक्षाकर्मीहरुको सेवा, सुरक्षा र सुविधाका विषयमा सरकारबाट कुनै किसिमको सम्झौता नहुने स्पष्ट पारे।
‘सुरक्षाकर्मीको यो योगदानको उच्च कदर हुनेछ । तपाईंहरुको सेवा, सुरक्षा र सुविधामा सरकारले सम्झौता गर्ने छैन,’ सुरक्षाकर्मीहरुलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘संकटका बेला खटिरहन प्रेरित गर्ने तपाईंको घरपरिवारप्रति पनि हामी कृतज्ञ छौं ।’
उनले नुवाकोटको विदुर नगरपालिका–६ मा रहेको केन्द्रीय कारागारका कैदीबन्दीहरुलाई सार्न र भाग्न खोजेकालाई नियन्त्रणमा लिन सुरक्षाकर्मी सफल भएको घटनालाई विशेष रूपमा उल्लेख गरेका छन्।
उनले उक्त घटनालाई विपद्का बेला सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीको एउटा उदाहरणका रुपमा प्रस्तुत गर्दै अन्य कयौं काम सुरक्षाकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका हुन् ।

