


भैरहवा,४असोज। रुपन्देहीमा प्रहरीले पेस्तोल र गोलीसहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरीले रुपन्देहीको सियारी गाउँपालिका–२ का ४४ वर्षीय अजय चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ स्थित बिध्या पथ (भैरहवा) बाट पेस्तोल र गोलीसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चौधरीले चोरीका मोटरसाइकललाई नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा चौधरीको साथबाट पेस्तोल र सोही पेस्तोलको चार राउण्ड गोली फेला परेको हो।
साथै, एउटै फोटो भएको दुई थान ब्लुबुक र चार थान भारतीय आधारकार्डसमेत बरामद भएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

