


लुम्बिनी,५ असोज । लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना चिनियाँ भाषा र भोट बौद्ध अध्ययन कार्यक्रममा अध्ययनरत विद्यार्थी चीनको हाइनान प्रान्त प्रस्थान गरेका छन्।
आइनानस्थित सान्या सहरको नानहाई बौद्ध एकेडेमीमा एक वर्षे अध्ययन तथा आदानप्रदान कार्यक्रमका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरेका हुन्। ३१ जना मध्ये भोट बौद्ध अध्ययनका ९ जना लामा र १ जना आनी छन् भने २१ जना गृहस्थ विद्यार्थी हुन्।

चीन जाने विद्यार्थीहरुको चिनियाँ भाषामा राम्रो आधार छ । २१ जना गृहस्थ विद्यार्थीले चिनियाँ भाषा दक्षता परीक्षाको तेस्रो तह उत्तीर्ण गरेका छन् । १० लामा र आनीहरुले दोस्रो तह उत्तीर्ण गरेका छन्। अध्ययन–आदानप्रदान अवधिमा उनीहरूले चिनियाँ भाषा, चिनियाँ बौद्ध संस्कृति तथा सम्बन्धित विषयहरू अध्ययन गर्ने विश्वविद्यालयले जनाएको छ । यसबाट चीनको संस्कृति बुझ्ने र अन्तरसांस्कृतिक संवाद क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको छ।
यो लुम्बिनी बौद्ध विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा अध्ययन तथा आदानप्रदानका लागि पठाइएको चौथो वर्ष हो । विगत तीन वर्षमा विश्वविद्यालयबाट नानहाई बौद्ध एकेडेमीमा अध्ययन तथा आदानप्रदानका लागि गएका विद्यार्थीको संख्या एक सय नाघिसकेको छ। यस कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शिक्षण शुल्क लाग्ने छैन भने नानहाई बौद्ध एकेडेमीले उनीहरूको आवास र भोजनको व्यवस्था व्यवस्था पनि निःशुल्क गर्नेछ ।
लुम्बिनी क्षेत्रमा चिनियाँ भाषामा दक्ष जनशक्ति अपेक्षाकृत कम छ । बौद्ध विश्वविद्यालयले नानहाई बौद्ध एकेडेमी तथा चीनका अन्य विश्वविद्यालय एवं शैक्षिक संस्थासँगको सहकार्यलाई थप सुदृढ गर्दै चिनियाँ भाषा शिक्षा र चीन अध्ययनलाई निरन्तर प्रवद्र्धन गरिरहेको छ। यसमार्फत चिनियाँ भाषा तथा अन्तरसांस्कृतिक संवादमा दक्ष जनशक्ति तयार गरी नेपाल–चीनबीचको जनस्तरीय तथा सांस्कृतिक आदानप्रदानमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

