


मर्चवार, ६ असोज। ‘तपाईंजस्तो बन्न कति पढ्नुपर्छ ?’ कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीले गरेको यो प्रश्नले रुपन्देहीको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवलाई केहीबेर सोच्न बाध्य बनायो।
सामाजिक विषयअन्तर्गत स्थानीय सरकारसम्बन्धी पाठको अध्ययनपछि स्थानीय तहको कार्यालय अवलोकनका लागि गाउँपालिका पुगेका प्रज्ञा गुरुकुल आश्रमका विद्यार्थीले यादवलाई उक्त प्रश्न गरेका थिए।

विद्यार्थीको जिज्ञासाको जवाफ दिँदै यादवले आफ्नो अध्ययन तथा संघर्षका अनुभव सुनाए। उनले सानै उमेरदेखि अध्ययनमा ध्यान केन्द्रित गर्दै कडा मेहनत र निरन्तर प्रयास गरे लक्ष्य हासिल गर्न सकिने भन्दै विद्यार्थीलाई मेहनतका साथ अध्ययन गर्न सुझाव दिए।
यादवले विद्यार्थीहरुलाई आफूलाई लागेका विषयमा खुलेर प्रश्न गर्न आग्रह गरेपछि विद्यार्थीहरुले गाउँपालिकामा भइरहेका विभिन्न विकास निर्माणका काम, विद्यालयसँग सम्बन्धित विषय तथा स्थानीय तहको कार्यसम्पादनबारे जिज्ञासा राखेका थिए।
कोटहीमाई गाउँपालिका–१, पुर्निहवास्थित प्रज्ञा गुरुकुल आश्रममा अध्ययनरत कक्षा ६ का विद्यार्थीहरु स्थानीय सरकारसम्बन्धी पाठको अध्ययनका क्रममा स्थानीय तहको कार्यालय प्रत्यक्ष अवलोकन गर्न गाउँपालिका पुगेका हुन्।
विद्यालयका शिक्षक वीरेन्द्रप्रसाद गुप्ताका अनुसार स्थानीय सरकारसम्बन्धी पाठमा स्थानीय तहले गर्ने काम तथा विभिन्न शाखाको प्रत्यक्ष अवलोकनसम्बन्धी विषयवस्तु समेटिएकाले विद्यार्थीहरुलाई गाउँपालिका अवलोकनका लागि ल्याइएको हो।
अवलोकनका क्रममा विद्यार्थीहरुले स्थानीय तहले विषयगत शाखामार्फत कसरी काम गर्छ, विभिन्न शाखाको जिम्मेवारी के हुन्छ तथा स्थानीय तहमा कुन–कुन पदाधिकारीको कार्यकक्ष हुन्छ भन्नेलगायतका विषयमा प्रत्यक्ष जानकारी लिएका थिए।
कोटहीमाई गाउँपालिका शिक्षा शाखाका सहायक शिक्षा अधिकृत मनोहर चौधरीले विद्यार्थीहरुलाई कार्यालयको विभिन्न शाखा, तिनको काम, जिम्मेवारी र अधिकारबारे जानकारी गराएका थिए।
चौधरीले विद्यार्थीहरुलाई स्थानीय सरकारको संरचना, जनप्रतिनिधिको भूमिका, अधिकार तथा जिम्मेवारीका साथै स्थानीय तहबाट हुने विभिन्न कार्यसम्पादन प्रक्रियाबारे समेत जानकारी गराए ।

