


भैरहवा,६ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको प्रमुख एंव प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई भदौ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको छ।
लुम्बिनी प्रदेशभरमा रुपन्देहीमा ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा दुर्घटना न्यूनीकरणका क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै प्रहरी निरीक्षक कार्कीलाई ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ घोषणा गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीले जनाएको छ।

रुपन्देही जिल्लामा भएका सवारी दुर्घटनाको तथ्याङ्क विश्लेषण गरी ७ वटा उच्च दुर्घटना जोखिम क्षेत्र पहिचान गर्दै सातैवटा दुर्घटना जोखिम क्षेत्रमा दुर्घटना जोखिम क्षेत्रसम्बन्धी चेतावनी संकेत बोर्ड जडान गरिएको छ। यसले जोखिमयुक्त सडक क्षेत्रमा चालक तथा पैदलयात्रीलाई आवश्यक पूर्वसूचना उपलब्ध गराउने उद्देश्य राखेको छ।
त्यस्तै, सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरी कार्यालयअगाडि रहेको सार्वजनिक जग्गाको भोगाधिकार प्राप्त गरी व्यवस्थित तथा सुरक्षित पार्किङ स्थल निर्माण गरिएको छ। यसबाट कार्यालय आसपासको पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित बनाउन सहयोग पुगेको जनाइएको छ।
कार्कीको पहलमा विभिन्न मितिमा बेवारिसे अवस्थामा फेला परी नियन्त्रणमा लिइएका १ चारपाङ्ग्रे सवारीसाधनसहित १२ वटा सवारीसाधन तालुक जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँग समन्वय गरी भैरहवा भन्सार कार्यालयमा बुझाइएको छ।
यसैगरी, बुटवल–भैरहवा सडकखण्डमा सवारी दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी दुई वटा उच्च दुर्घटना जोखिम क्षेत्रमा स्पिड ब्रेकर तथा रम्बल स्ट्रिप, स्पष्ट रुपमा देखिने सडक चिन्ह तथा रोड मार्किङ, जेब्रा क्रसिङ र पैदलयात्री मार्गको निर्माण, मर्मत तथा पुनःस्थापना गरिएको छ। साथै, विभिन्न जनचेतनामूलक तथा सांकेतिक सडक सचेतना बोर्ड समेत स्थापना गरिएको छ।
ट्राफिक नियम कार्यान्वयनतर्फ पनि कार्कीको कार्यसम्पादन उल्लेखनीय रहेको जनाइएको छ। क्षमताभन्दा बढी भार बोकेका १,९९८ वटा सवारीसाधनलाई कारबाहीका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ।
त्यस्तै, स्थानीय तहहरुसँग आवश्यक समन्वय गरी ट्राफिक उल्लङ्घन अभिलेख तथा सेवा प्रणाली सञ्चालनका लागि आवश्यक कम्प्युटर, प्रिन्टरलगायतका उपकरणहरु मातहतका पाँचवटा पोस्टबाट उक्त प्रणाली सेवाको विस्तार गरिएको छ। यसबाट ट्राफिक व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुगेको बताइएको छ।
उल्लेखित कार्यहरुको मूल्याङ्कन गर्दै लुम्बिनी प्रदेशमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीमध्ये प्रहरी निरीक्षक प्रतिमा कार्कीलाई २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषणा गरिएको हो।
सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियम कार्यान्वयन, सडक पूर्वाधार सुधारका लागि सम्बन्धित निकायसँग समन्वय तथा प्रविधिमैत्री ट्राफिक सेवा विस्तारमा गरिएको पहललाई उनको उत्कृष्ट कार्यसम्पादनका प्रमुख आधारका रुपमा लिइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रुपन्देहीले जनाएको छ।

