


काठमाडौं,६ असोज। सरकारले विपद् प्रभावितको राहत तथा उद्धारका लागि सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १५ अर्ब रुपैयाँभन्दा बढी रकम मौज्दात रहेको जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा गरी ११ अर्ब २७ करोड २ लाख ६० हजार ६८५ मौज्दात रहेको छ। यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ४८ लाख ४ हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ।

सबै खातामा गरी कुल रकम १५ अर्ब ६ करोड ५६ लाख २८ हजार १६७ रुपैयाँ पुगेको छ।
सरकारले यस कोषमा जम्मा भएको रकममध्ये यसअघि नै १ अर्ब बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि निकासा गरिसकेको छ। बाढी प्रभावितका लागि थप सहयोग जुटाउने क्रम भने जारी रहेको छ।

