
भैरहवा, १ माघ ।
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नारायण जोशीको अलराउण्ड प्रदर्शनमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ ।
Advertisement

Advertisement
Advertisement

सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा जितका लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले २९.३ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमको जितमा शेर मल्ल ४४ बलमा ४ चौका र २ छक्कासहित ४२ रनमा अविजित रहे । त्यस्तै नारायण जोशी ३० बलमा ४ चौकासहित २८ रनमा अविजित रहे । ओपनर खड्क बोहरा २१, टेक रावत १८, नरेन भट्ट १२ र किरन ठगुन्ना १६ रनमा आउट भए ।
लुम्बिनीका अभिषेक गौतमले १० ओभरमा ६० रन खर्चेर ३ विकेट लिए । कृष्ण कार्की र अजय चौहानले समान १–१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली लुम्बिनी प्रदेशले ४८.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५८ रनमा अलआउट भएको थियो । लुम्बिनीका प्रज्वल थापाले ६८ बलमा ४ चौकासहित सर्वाधिक ४२ रन बनाएका थिए । प्रज्वल बाहेक लुम्बिनीका कुनै पनि ब्याटरले राम्रो ब्याटिङ गर्न सकेनन् । ओपनर विराट भण्डारी २३, सम्राट भुुसाल ९, मिर्नाल गुरुङ १४, मोहम्मद हुसेन २६ र दिलसाद अली १० रनमा आउट भए ।
सुदूरपश्चिमका नारायण जोशीले ९.४ ओभरमा १ मेर्डनसहित ३६ रन खर्चेर ३ विकेट लिए । भोजराज भट्ट र नरेन साउदले समान २–२ विकेट लिए । नारायण जोशी प्लेयर अफ दी म्याच भए । लुम्बिनीले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४ विकेटले हराएको थियो । सुदूरपश्चिको यो पहिलो खेल थियो । सुदूरपश्चिमले मंगलबार कर्णाली प्रदेशसँग खेल्नेछ । लुम्बिनीले बुधबार कर्णालीसँग खेल्नेछ ।

