


भैरहवा, ३ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले १५ दिनभित्र प्रहरी समायोजनको निर्देशन दिएको विषयमा नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेलले हचुवाको भरमा समायोजन गर्दा समायोजनले पार्ने असरको हेक्का राख्नुपर्दैन भन्ने प्रश्न गरेका छन् ।
‘१५ दिनभित्र प्रहरी समायोजन गरिसक्न त निर्देशन दिनुभयो’ उनी भन्छन् ‘प्रधानमन्त्रीज्यू, तर हचुवाको भरमा समायोजन गरिँदा यसले पार्ने असर हेक्का राख्नुपर्दैन ? यसले संघ र प्रदेशबीचको द्वन्द्व शुरु गराउन खोजिएको प्रस्टै छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता समेत रहेका उनले प्रहरी समायोजन भएलग्त्तै प्रदेश प्रदेशबीच मनमुटाव, वैमनस्यता उत्पन्न हुने उनको तर्क छ । उनले समाजिक संजाल फेसबुक मार्फत भनेका छन्–‘अब प्रहरी समायोजन हुने बित्तिकै प्रदेश प्रदेशका प्रहरीबीच मनमुटाव वैमनस्यता त हुने नै छ । त्यस्तै परे गोली हानाहान पनि नहोला भन्न सकिन्न।’
प्रहरी समायोजनाले एउटा प्रदेशमा अपराध गरेर अर्को प्रदेश लुक्न सक्ने भए अपराधी, सीमापारी जानै नपर्ने समेत उनको दावी छ । उनले प्रश्न गर्दै भने–‘ त्यताचाहिँ ध्यान दिनुपर्दैन ? चाहिँदै नचाहिएको प्रदेश संरचनामा किन समायोजन ? यस्तो अस्वभाविक र असान्दर्भिक समायोजन किन ?’

