
काठमाडौं, ४ माघ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार भत्काउने संकेत गरेका छन्। पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले देशलाई बर्बाद बनाएको आरोप लगाए।
सरकारले नै भ्रष्टचारी र कमिसनखोरीको संरक्षक बनेको उनको आरोप छ। ‘यिनीहरू सबैको घाँटी एकैठाउँमा जोडिएको छ। घाँटीमात्र होइन, सिंगै शरीर जोडिएको छ। यी भ्रष्टाचारी र कमिसनतन्त्रीय बंशका हुन्। यिनको गोत्र निकम्मा हो। यिनको जात देशद्रोही हो’, उनले भने।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

गठबन्धन सरकार देशका लागि हानिकारक भएको बताउँदै उनले मिसन ८४ अघि नै गठबन्धन भत्काउने अवस्था आउनसक्ने बताए। ‘गठबन्धन देशका लागि एकदमै हानिकारक छ। यसले देशलाई बर्बाद पारिसक्यो। कमजोर बनाइसक्यो। देशका स्रोतहरू बेचिसक्यो। हाम्रो स्वाभिमानलाई धुजा(धुजा बनाइसक्यो’,उनले भने, ‘यस्तो अवस्थामा मिसन ८४ पर्खिने अवस्था नआउन सक्छ। देश बर्बाद हुन लागेपछि त हामीले कहाँ मिसन ८४ पर्खिन्छौं। गठबन्धन भत्काएर अघि बढ्नेछौं।’
उनले सरकारलाई बुख्याँचाजस्तो भएको आरोप लगाए। ‘उनीहरूले बनाएको सरकार तरकारी बारीको बुख्याँचाजस्तो छ। उसका टाउकामा अहिले सुगा पनि बस्छ, काग पनि बस्छ। सुगा र कागले चिनिसके यो बुख्याचा हो। यसले केही गर्न सक्दैन भनेर’, उनले भने।
उनले देश अफ्ठ्यारो स्थितिमा रहेको प्रस्ट पार्दै सबै क्षेत्रलाई अफ्ठ्यारो स्थितिबाट बचाउनुपर्ने बताए।

