


भैरहवा । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र वडाअध्यक्ष भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । सेवाग्राहीसँग घुस लिएको आरोपमा दायर मुद्दामा विशेष अदालतले उनीहरूलाई दोषी ठहर गरेको हो ।
विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार रुपन्देहीको शुद्धोधन गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका हुन् । घुस लेनदेनमा बिचौलियाको काम गरेका विनोद भरलाई समेत बिशेष अदालतले मतियारको रूपमा सजाय गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मेहतालाई शुक्रवार दोषी ठहर गरेको हो । प्रशासकीय अधिकृत मरासिनी र वडाअध्यक्ष यादवले ठेक्कामार्फत नदीबाट झिकिएको बालुवा तथा गिट्टीको बिक्री आदेशका लागि सेवाग्राहीसँग घुस माग गरेको अख्तियारको दाबी थियो।
प्रमुख प्रशासकीय अधिकृतमार्फत बिचौलिया विनोद भरलाई प्रयोग गरी सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेको जानकारी पाएपछि अख्तियारको टोलीले भरलाई रकमसहित रङ्गेहात पक्राउ गरेको थियो । भरकै बयानका आधारमा प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव पक्राउ परेका थिए ।
अनुसन्धानपछि बिक्री आदेशको म्याद थप गर्ने प्रयोजनका लागि घुस मागेको पुष्टि भएपछि अख्तियारले गत असार ११ गते उनीहरु विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
सोही मुद्दामा बिशेष अदालतले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ५० हजार बिगो बराबरकै जरिवाना र तीन महिना कैदको सजाय सुनाएको छ । घुस रकम माग गर्ने वडाअध्यक्ष यादव र बिचौलिया विनोद भरलाई भने मतियारको रूपमा जनही २५ हजार रुपैयाँ जरिवाना तथा डेढ महिना कैदको फैसला सुनाइएको छ ।

