


दाङ । दाङको घोराहीमा बिहिवार राति ड्युटी गरिरहेको महिला प्रहरीमाथी गोली प्रहार गरी हत्या गरेको घटनाले जिल्लाको सुरक्षा व्यवस्थामाथी प्रश्न उठेको छ ।
प्रहरीमाथी प्रहरीले नै गोली प्रहार गरेर हत्या गरेको घटनाले सर्वसाधरणहरुमा सुरक्षाको विषयमा बहस समेत सुरु भएको छ । यद्यपी प्रहरीले घटनामा संग्लन आरोपीलाई पक्राउ गरेको छ । तर, जघन्य अपराधपछि प्रहरीले आरोपी पक्राउ गरेपनि जिल्लामा शान्ति सुरक्षाको अवस्थाको वास्तविकता झल्किएपछि प्रश्न सहितको बहस सुरु भएको हो ।

प्रहरीका अनुसार घोराही उपमहानगरपालिका–१५ दामोदर चोकमा ड्युटी गरिरहेको अवस्थामा वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापामाथी उनकै श्रीमान प्रहरी सहायक हवल्दार यमबहादुर झाक्रीले गोली प्रहार गरेका थिए । गोली लागेर घाइते भएको थापाको स्थानीय अस्पतालमा मृत्यु भएको थियो ।
भे १२ प ११५० नम्बर प्लेट मोटरसाइकलमा आएर गोली प्रहार गरेर फरार भएका झाक्रीलाई प्रहरीले पेस्तोल सहित सोही रात अर्जुनखोलाबाट पक्राउ गरेको थियो । झाक्री नेपालगंज तालिम केन्द्रमा कार्यरत रहेका थिए ।
‘श्रीमान श्रीमतीबीच कलहका कारण घटना भएको प्रराम्भिक अनुसन्धानमा पाइएको छ’, जिल्ला प्रहरी कार्यालय दाङका एसपी रामबहादुर केसीले भने, अहिलेसम्म पारिवारिक कलह नै मुख्य कारण रुपमा देखिएको छ तर हामीले अनुसन्धान गरिरहेको छौँ । अनुसन्धान पछि पुरै विषय खुल्नेछ ।’
थापा र झाक्रीको एक सन्तान छन् र धनमायाले माघमा जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

