
भैरहवा : साना किसान कृषि सहकारी संस्था लिमिटेड गोनहाको अध्यक्षमा पुनः ओम प्रकाश यादव (गुल्जारी) निर्वाचित भएका छन् । बिहिबार सम्पन्न संस्थाको २० औं वार्षिक साधारण सभा तथा पाचौं अधिवेशनले आगामी ४ बर्षे कार्यकालको लागि पुनः यादवकै नेतृत्वमा कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा अनुरुध प्रसाद बनिया रहेका छन् । यस्तै सदस्यहरुमा राम कुमार यादव, दिनेश बरई, संगिता यादव, शोभा यादव, कमला यादव र भगवानदास कुर्मि रहेको संस्थाका व्यवस्थापक अभय तिवारीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

संस्थाको २० औं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य वसिउद्दिन खाँनले ढुक्क भएर साना किसान कृषि सहकारीमा लगानी गर्न आग्रह गरे ।
उनले सहकारीहरुबारे बजारमा अनावश्यक हल्ला फैलाईएको बताउदै यसबाट जोगिन शेयर सदस्यहरुलाई आग्रह गरे । ३ हजार ६ सय बढी शेयर सदस्य रहेको सहकारी त्यसै जोखिममा नपर्ने उनले जिकिर गरे । सहकारीमा सहकारी बिभाग संगै अन्य धेरै निकायहरुको अनुगमनकारी भूमिका रहेको हुदा नडराउन उनले शेयर सदस्यहरुलाई आग्रह गरे ।
प्रदेश सांसद खाँनले प्रदेश सरकारको औचित्य पुष्टि गर्दै यसले सरकार र जनतालाई सिधा जोडेको बताए । मर्चवारको विकासमा २ अर्ब भन्दा बढीको लगानी गरिसकेको बताउदै उनले मर्चवारमा क्याम्पस, पुल देखि बाटोमा प्रदेश सरकारले लगानी गरेको दावी गरे ।
उनले मर्चवारको लाइफलाईनको रुपमा रहेको ४ लेनको बाटो बिभिन्न अवरोधहरु पन्छाई सम्पन्नता उन्मुख रहेको बताए । सोही बाटोलाई आगामी बर्ष देखि खैराघाट सम्म पुग्ने गरि बजेट बिनियोजनको तयारी भईरहेको उनले जानकारी दिए ।
पूर्व कृषि राज्यमन्त्री समेत रहेका सहकारीका अध्यक्ष ओमप्रकाश यादव (गुल्जारी) ले केहि अवाञ्छित तत्वहरु दुख दिने नियतका साथ अनावश्यक हल्ला फैलाएको गुनासो गरे ।
उनले आर्थिक मन्दीको मौका छोपी सहकारीलाई सकाउने खेल भए पनि आफुले त्यसलाई असफल बनाइ दिएको दावी गरे । “यस बिच बिभिन्न प्रकारका मुद्दा, उजुरी दिई दुख दिनेहरु आए,” यादवले भने “सहकारीको काम पारदर्शी र स्पष्ट रहेको कारण त्यस्ता आरोपहरुबाट जोगिएका छौं ।”
उनले सहकारीका सदस्यहरुलाई उनीहरुले खोजेकै आधारमा बचत तथा ऋण लगानी गरेको बताए । यादवले पनि साना सहकारी अन्य सहकारीहरु भन्दा फरक प्रकृतिको सहकारी संस्था रहेको बताए । सरकारको प्रत्यक्ष निगरानीमा रहेको साना सहकारीहरुमा कसैले पनि अनियमितता गर्न नसक्ने उनको जिकिर थियो ।
सहकारीका ब्यवस्थापक अभय तिवारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष शैलेन्द्र कुमार पाण्डे, साना किसान लघुवित्तका बुटवलका शाखा प्रवन्धक गणेश प्रसाद भट्टराई, अधिकृत निरन्जन निषाद लगायतले बोलेका थिए ।

