


भैरहवा : लम्बिनी प्रदेशका सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।
कपिलवस्तुस्थित सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि यादव निलम्बनमा परेका हुन् ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट कपिलवस्तु क्षेत्र नम्बर ३ (२) बाट निर्वाचित भएका थिए । अख्तियारले सार्वजनिक सम्पत्ति (वन पैदावार) को हानि नोक्सानी गरी भ्रष्टाचार गरेको शिर्षकमा यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
मुद्दा दायर भएपछि लुम्बिनी प्रदेश सभा सचिवालयले यादवको पद स्वतः निलम्बन भएको सूचना जारी गरी जनाएको छ । ‘सचिवालयमा प्राप्त हुन आएकोले लुम्बिनी प्रदेश सभा सदस्य श्री जानकी प्रसाद यादव भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ को कानूनी व्यवस्था बमोजिम मिति २०८०/११/०८ देखि प्रदेश सभा सदस्य पदबाट स्वतः निलम्बन हुनु भएकोले यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ ।
गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष यादवविरुद्ध अख्तियारले २९ लाख १२ हजार १९३ रुपैयाँ ६५ पैसा बिगोसहित मुद्दा चलाएको थियो।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ बमोजिमको कसुरमा उक्त ऐनको दफा १७ ले निर्देश गरेबमोजिम ऐनको दफा ३ को उपदफा (१) को देहाय (छ) बमोजिमको कैदको सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना बिगो असुल उपर गरीनुपर्ने अभियोगपत्रमा मागदाबी गरिएको छ ।


