
भैरहवा : रुपन्देहीको भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (युसीएमएस) शिक्षण अस्पतालमा ‘३ (थ्री) टेस्ला एमआरआई’ उपकरण संचालनमा ल्याइएको छ । विश्व प्रशिद्ध अत्याधुनिक उक्त उपकरण लुम्बिनी प्रदेशमा पहिलो पटक संचालनमा आएको दावी अस्पताल प्रशासनको छ ।
मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा.सदन मुखिले विश्व प्रशिद्ध अत्याधुनिक नयाँ एमआरआई मेसिनले १४ मिनेटमा पुरा शरीर स्क्यान गरी रिपोर्ट दिनसक्ने बताए ।
Advertisement

Advertisement
Advertisement

उक्त एमआरआईमा बिकिरणको जोखिम नभएको, शरीरका एकदमै स–साना कोशिका, नशा, गांठ, हाडजोर्नी, ट्युमरको सहजै अवलोकन गर्न सकिने र क्यान्सर रोग तथा यसको पैmलावटलाई सहजै छिटो समयमा पत्ता लगाउन सकिने बिशेषता रहेको उनले जानकारी दिए ।
‘यस खालको उच्च गुणस्तरीय एमआरआई मेशिनको अभावमा रोगको सही निदान हुन नसक्दा यस क्षेत्रका बिरामी काठमाडौं लगायत विदेश जानु पर्ने बाध्यता थियो’, उनले भने, ‘अब यो बाध्यता हटेको छ ।’
अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार १८ करोड रुपैयाँ लगानीमा जडितउक्त नयाँ प्रविधिको एमआरआई सेवा संचालनमा ल्याइएको हो ।
‘यसबाहेक अस्पतालले सबै किसिमका उपचारहरु नयाँ प्रविधिको प्रयोग गरी विशेषज्ञ चिकित्सकबाट गराउँदै आएको छ’, गुरुङले भने, ‘शैक्षिक क्षेत्र पनि हामी अब्बल छौं, दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइरहेका छौँ ।’
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आइतवार उक्त उपकरणको उद्घाटन गरे । स्वास्थ्यमन्त्री खनालले विशेषज्ञ चिकित्सकको अभावले लुम्बिनी प्रदेशमा रहेका १३ वटा सरकारी अस्पतालमा १ सय ५० वटा विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको बताए ।
‘विशेषज्ञ चिकित्सकका लागि विज्ञापन खोल्यो, कसैको निवेदन पर्दैन’, खनालले भने, ‘यो अवस्थामा नेपालका निजी क्षेत्रबाट संचालित मेडिकल कलेजले दक्ष जनशक्ति तयार गरेपछि दुर्गममा सेवा पुर्याउन केही सहज भएको छ ।’
मेडिकल कलेजबाट उत्पादन गरिएका जनशक्तिलाई छात्रबृत्तिमा सरकारी अस्पतालमा पठाइन थालेपछि सरकारी अस्पतालको सेवा प्रभावकारी हुन थालेको उनले उल्लेख गरे ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले स्वास्थ्य क्षेत्रमा मेडिकल कलेजले महत्वपूर्ण योगदान दिएको जनाए । उनले नयाँ र प्रविधियुक्त उपकरण थप गरेर अस्पताललाई अझै सुविधासम्पन्न बनाउन आग्रह गरे ।
‘जसले गर्दा नजिकका भारतीय सहर र काठमाडौंमा उपचारका लागि जानेहरु यही रोकिन्छन्’, उनले भने, ‘जुन हिसाबले अस्पतालले सेवा र गुणस्तरमा फड्को मारिरहेको छ, त्यसलाई निरन्तर कायम राख्नुपर्छ ।’ उनले गरिब तथा विपन्न परिवारलाई उपचारमा विशेष सहयोग गर्न समेत आग्रह गरे ।
अस्पतालका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले सरकारले संचालन गरेका सबै कार्यक्रम तथा शर्त पालना गरिएको र बिशेषज्ञ स्वास्थ्य सेवाका लागि बिदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने तर्फ अस्पतालको सेवालाई केन्द्रित गर्न लागिएको जनाए ।
सरकारी अस्पताल भन्दा युसिएमएसले सस्तोमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको दावी गर्दै अर्यालले अस्पतालमा बिशेषज्ञ सेवाको साथमा रोगको डायग्नोसिसका लागि उच्च गुणस्तरीय उपकरण सेवाका लागि पनि अस्पतालको योजना केन्द्रित रहेको बताए ।


