
भैरहवा, ९ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय शिक्षा अध्ययन कार्यदल गठन गरिएको छ । नगरपालिकामा रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक शैक्षिक नीति र योजना बनाउन नगरले कार्यदल गठन गरेको हो ।
नगर शिक्षा समितिको बैठकले डा.शम्भु गुप्ताको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन गरेको हो । जसको सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख चेतनशील लम्साल, सदस्यहरुमा डा.त्रिभुवन बरई, वनमाली निराकार, डिल्लीराज भट्टराई, विजयगोविन्द श्रेष्ठ, दिनेश मिश्र, पिताम्बर तिवारी, मकबुल अहमद खान र रुपकुमार क्षत्री छन् ।
Advertisement

Advertisement
Advertisement

नगरको सम्रग शैक्षिक सुधारका लागि कार्यदल गठन गरिएको सिद्धार्थनगरका प्रमुख एवं शिक्षा समितिका अध्यक्ष इश्तियाक अहमद खाँले जानकारी दिए । ‘गठित कार्यदलले नगरमा शैक्षिक सुधारका लागि आवश्यक कार्ययोजनासहितको प्रतिवेदन शिक्षा समितिलाई बुझाउने छ’, उनले भने, ‘त्यसले नगरको शिक्षाको वर्तमान अवस्था थाहा भई नगरपालिकाले सुधारका लागि आवश्यक शैक्षिक नीति तथा योजना बनाएर अघि बढ्छ ।’
कार्यदलले नगरको १३ वटै वडामा रहेका सामुदायिक, संस्थागत, धार्मिक विधालय, अभिभावक र शिक्षासँग सरोकार राख्ने व्यक्तित्वहरुसँग छलफल तथा अध्ययन गरेर काम अघि बढाउने सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए ।
उनले कार्यदलको सिफारिसले शैक्षिक व्यवस्थापनमा महत्वपूर्ण योगदान हुने उल्लेख गरे ।

