
भैरहवा, २६ चैत । नेपालको विभिन्न सीमानाकाबाट भारत पुगेका पाँच जना नेपाली युवतीहरुको उद्दार भएको छ । सामाजिक संजालबाट अन्जान व्यक्तिको सम्पर्क आएर विभिन्न प्रलोभनमा परी भारत पुगेका युवतीहरु बेचबिखनको उच्च जोखिममा रहेको अवस्थामा उनीहरुलाई बिहार राज्यको बैशाली जिल्लाबाट उद्दार गरिएको केआइएन इण्डिया संस्था भारतका टिम लिडर नविन जोशीले जानकारी दिए ।
उनले आफुहरुलाई घटनाबारे जानकारी पाएलग्त्तै उद्दारका लागि प्रयास सुरु गरेको र उद्दार गरी स्वदेशफिर्ती गराइएको बताए ।
Advertisement

Advertisement
Advertisement

संस्थाले १४ देखि १७ वर्ष उमेरसमूहका रहेका रुपन्देहीका दुई, पर्साका दुई र धनुषका एक जना युवतीको उद्दार गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बुझाएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडिओ) गणेश अर्यालले एक कार्यक्रमका बीच युवतीहरुको मनोबल बढाउनका लागि खादा लगाएर स्वागत गरेका थिए ।
‘सीमानाकाबाट हुने मानव बेचबिखन नियन्त्रणका लागि राज्य र संस्थाहरुले आफ्नो दायित्व निर्वाह गरिरहेका छौँ’ सीडिओ अर्यालले भने, ‘तर, यसबाट जोगिनका लागि आफु पनि सचेत हुनुपर्छ ।’ उनले गिरोहलाई निस्तेज पार्नका लागि घटनाको जरोसम्म पुगेर अनुसन्धान गर्नका लागि प्रहरीलाई निर्देशन दिए ।
केआइएन ईण्डिया नेपाल कोर्डिनेटर इन्द्रराज भटट्राईले हाल मानव तस्करहरुले बचेबिखनको टे्रण्ड परिवर्तन गरेर युवतीहरुलाई विगत जस्तो कोठीमा नराखी यौन व्यवसायमा लगाउने गरेको र सरकारलाई पटक पटक नेपाली युवती रहेको कोठी स्थलबारे जानकारी गराउदाँ समेत केही नभएको गुनासो गरे ।
प्रहरीका अनुसार रुपन्देहीका दुई युवती जिल्लाको कर्करहवा नाकाबाट भारतका पुगेका थिए । भारतीय सीमा सुरक्षा बलले उनीहरुलाई सीमापार गर्नबाट रोकेर सशस्त्र प्रहरीलाई बुझाएको थियो । सशस्त्रले ती युवतीहरुलाई नाकामा मानव बेचबिखन विरुद्ध कार्य गरिरहेको एक संस्थालाई जिम्मा लगाएको थियो । तर, उक्त संस्थाले लापरवाहीपूर्वक अभिभावकको जिम्मा लगाउनुपर्ने ती दुई जना युवतीहरुलाई भारत नै पठाएको प्रहरीको प्रराम्भिक अनुसन्धानमा खुलेको छ । घटनाको अनुसन्धान भइरहेकोले युवतीहरुलाई भारत नै पठाइदिने संस्था नाम खुलाइएको छैन ।
मानवबेचबिखन नियन्त्रणका लागि पालिकाहरुले टोलस्तरसम्म सचेतना फैलाउनुपर्ने, विधालयका पाठ्यक्रमहरुमा अध्यापन गराउनुपर्ने, लगायत सरोकारवालाहरुले सुझाव राखेका थिए ।

