
भैरहवा, २० बैशाख । सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्त व्यक्तिहरुलाई निःशुल्क सहायता साम्रगी उपलब्ध गराइएको छ । शारीरिक रुपमा अशक्तहरुलाई लक्षित गर्दै अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रको सहकार्यमा सिद्धार्थनगर नगरपलिकाको कार्यालयले गत फागुनमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको थियो ।
सो अवसरमा खुट्टामा समस्या भएका १२ जना व्यक्तिहरुलाई आवश्यक देखिएको विशेष किसिमको जुत्ता (सहायता साम्रगी) का लागि उनीहरुको खुट्टाको नाँप लिइएको थियो । नाँप पश्चात तयार भएको जुत्ता सम्बन्धित व्यक्तिहरुलाई उपलब्ध गराइएको सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । जसमध्ये ६ जनाले केन्द्रको कार्यालयमै पुगेर जुत्ता लिएको र ६ जनालाई नगरपालिकाको कार्यालयमा उपलब्ध गराइएको हो । उनले शिविर र सहायता साम्रगीमा सिद्धार्थनगर सहित अन्य पालिकावासीहरुलाई पनि सेवा दिइएको बताइन् ।
Advertisement

Advertisement
Advertisement

‘संचालित शिविरमा सिद्धार्थनगर सहित अन्य पालिकावासीहरु पनि सेवा लिन आएपछि सेवाभावले हामीले उनीहरुलाई पनि सेवा दिएका थियौँ’ उपप्रमुख अधिकारीले भनिन्, ‘जस अनुसार अन्य पालिकावासीहरुलाई पनि तयार जुत्ता उपलब्ध गराएका छौँ ।’
नगरपालिकाको कार्यालयमा सिद्धार्थनगरका तीन जना, सियारी, कोटहीमाई गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका एक–एक जनालाई खुट्टाको नाँप अनुसार जुत्ता उपलब्ध गराइएको छ ।
उपलब्ध गराइएको जुत्ताले खुट्टामा देखिएको समस्यालाई बढ्न नदिई रोकथाम गर्ने र सुधार गर्नमा मद्दत पुर्याउने अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्रका फोकल पर्सन राजाराम चौधरीले बताए ।
शारीरिक रुपमा अशक्तहरुका लागि सिद्धार्थनगरको स्थानीय समन्वय समितिले अपाङ्गता वर्गीकरण अनुसार सेवा सुविधा पाउने गरी परिचय पत्र र शिविर संचालन गरी निःशुल्क सहायता साम्रगी र उपचार लागि आवश्यक समन्वय गरी सेवा प्रदान गर्दै आएको छ ।

