


भैरहवा, २८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक (एसपी) हेमन्त चौधरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीहरुले सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेकोले छानबिनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीको आधारमा अनुसन्धान हुँदा बढुवा र सुविधाका लागि एसपी चौधरीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रको पेश गरेको पाइएपछि उनीविरुद्ध विशेष अदालतमा मुद्दा (आरोप पत्र) दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले बताए ।

उनका अनुसार चौधरीले भारतको मगध विश्वविद्यालय बोधगयाबाट बि.ए.उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी अनुसन्धान अधिकृतको बढुवा नियुक्ति र विभिन्न पदको लागि समेत सोही प्रमाणपत्र पेश गरी ओहोदा, लाभ र सुविधा लिएकोले चौधरीबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुदाँ कैद र जरिवाना सजाए मागदावी गर्दै मुद्दा दायर गरिएको छ ।

