
भैरहवा, १० असार । रुपन्देहीको रोहिणी गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरिएको छ । पालिकामा रहेका १५ महिना र १६ देखि ५९ महिनामुनिका सबै बालबालिकाहरुलाई पूर्ण खोप लगाएको सुनिश्चितता गरेपश्चात पालिकालाई ‘पूर्ण खोप सुनिश्चितता दिगोपना’ घोषणा गरिएको हो ।
पूर्ण खोप पालिका घोषणा र दिगोपनाको अवस्थाको समीक्षा गर्ने, पालिकास्तरीय खोप सुक्षम योजना, दिगोपनाको योजना बनाउने, पूर्ण खोप सुनिश्चितता लागि स्थानीय तह स्वास्थ्य संस्था र अन्य साझेदार तहको भूमिकामा साझेदारी तथा जिम्मेवारी बाँडफाँड गर्ने पूर्ण खोप सुनिश्चितता दिगोपनाको उद्देश्यहरु रहेको रोहिणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनेवास चौधरीले जानकारी दिए ।
Advertisement

Advertisement
Advertisement

रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले आगामी दिनमा पनि रोहिणीलाई पूर्ण खोपको अवस्था कायम राख्ने प्रतिवद्धता व्यक्त गरे । ‘पालिकावासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै हामीले स्वास्थ्य क्षेत्रमा धेरै काम गरिरहेका छौँ र आगामी दिनमा पनि गर्नेनै छौँ’ उनले भने, ‘पालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा जुन गर्न सफल भयौँ । त्यो यसैको उपज हो ।’
आयोजित कार्यक्रममा पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेकिकाहरु प्रति आभार व्यक्त गर्दै रोहिणी गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजनले भनिन्,‘तपाईहरुको केही जायज मागहरु छ । त्यो पालिकाले पुरा गर्न प्रयास गर्छ ।’
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश कुमार चौधरीले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘मैले स्वास्थ्यकर्मीको समस्या बुझेको छु । स्वास्थ्य क्षेत्रलाई अगाडि बढाउन तपाईहरु सबैको अमूल्य योगदान छ । विभिन्न समस्याका बाबजुद राम्रोसँग काम गर्नुभएको छ । तपाईहरु धन्यवादको पात्र हुनुहुन्छ ।’
रोहिणी गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष इन्द्रमान चौधरीले स्वास्थ्य नै धन भएको भन्दै वडामा आधारभूत स्वास्थ्य चौकीको आवश्यकता रहेको औल्याए । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत चिन्तामणि ज्ञवालीले स्वास्थ्यकर्मीका जायज माग पालिकाले सम्बोधन गर्ने अपेक्षा रहेको भन्दै पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा गरेर मात्र नभई पूर्ण खोपको अवस्था कायम राख्नु महत्वपूर्ण रहेको बताए ।
बगहा स्वास्थ्य चौकी इञ्चार्ज बुद्धि प्रसाद पन्तले स्वास्थ्यकर्मी रात दिन नभनी खटिएको बताए । ‘हामी सबैको प्रयासले रोहिणीलाई पूर्ण खोप सुनिश्चितता दिगोपना पालिका घोषणा भएको छ, उनले भने,‘ पूर्णखोपको अवस्थामा कायम राख्नका लागि हाम्रो एकल प्रयासले मात्र नभई सम्पूर्ण स्थानीयवासीको सहयोग आवश्यक छ ।’ स्वास्थ्य प्राविधिक रेनुका पाण्डेको संचालनमा भएको कार्यक्रममा वरिष्ठ अहेव रमेश चौबे, पुर्ण बहादुर कंवर लगायतले भनाइ राखेका थिए ।

