


भैरहवा, १५ असार। भैरहवामा ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । जिल्ला वन कार्यालय रुपन्देहीको आयोजना तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा निर्माणधिन जिल्ला प्रहरी कार्यालयको भवन परिसरमा वृक्षारोपण गरिएको हो । भैरहवाको शान्तिनगर स्थित निर्माणधिन रहेको प्रहरी कार्यालयको भवन परिसरमा लिची, आँप, अमला, कटहर, बेलउती (अम्बा) निम, अशोक लगायत गरी चार सय पैतिस वटा विरुवा रोपण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एवं सूचना अधिकारी मनोहर भट्टले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्यावरण संरक्षणका लागि खाली जग्गामा वृक्षारोपण गर्ने र वृक्षको संरक्षण गर्नमा प्रत्येक नागरिक गम्भिर बन्नुपर्ने बताए । वातावरणको संरक्षणमा सबैको चासो हुनुपर्ने उनको भनाई थियो । रुपन्देहीका एसपी रंजितसिंह राठौरले कार्यालय परिसरमा रोपण गरिएका प्रत्येक वृक्षको संरक्षण कार्यालयले गर्ने प्रतिवद्धता जनाए ।

उक्त कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, जिल्ला वन कार्यालयका प्रमुख प्रभात सापकोटा, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, बिभिन्न सरकारी कार्यालयका प्रमुख लगायतको उपस्थिती रहेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले यस अघि १७ औँ गणतन्त्र दिवसको अवसरमा पनि निर्माणधिन भवन परिसरमा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरेको थियो ।


