


भैरहवा, २८ असार । भैरहवा (गौतमबुद्ध) विमानस्थलमा बुद्ध एयरको विमान अवतरण गर्ने क्रममा चिप्लिएर धावनमार्ग किनारमा पुगेको छ । बिहिवार राति साढे ९ बजे उडान भरेको बुद्ध एयरको विमान विमानस्थलमा पूर्वबाट पश्चिम तर्फ अवतरण गर्नेक्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर किनारमा पुगेको प्रहरीले जनाएको छ ।
विमान चिप्लिएर घाँसेमैदानमा पुगेको र चक्का भाँसिएकोले विमान थप अगाडी बढ्न पाएन ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी एंव सूचना अधिकारी मनोहरप्रसाद भट्टका अनुसार चालकदलका सदस्य सहित विमानमा सवार सबै ५९ जनालाई सुरक्षित बाहिर निकालिएको छ । सबै सकुशल छन् ।

उनले काठमाडौंबाट आएको बुद्ध एयरको प्राविधिक टोलीले विमानलाई ट्याकमा ल्याउनका लागि काम गरिररहेको बताए । विमानको चक्का माटोमा भाँसिएकोले सुरक्षित निकाल्ने प्रयास भईरहेको छ ।विमान धावनमार्गमै रहेकोले हाल विमानस्थल बन्द रहेको डिएसपी भट्टले जानकारी दिए ।

